Saturday, March 17, 2012

काम सानो हुँदैन


प्युठानवाट काठमाण्डौँ पढ्नको लागि आएकी प्रमिला पोखरेल क्याथफोर्ड इञ्जिनियरिङ्ग क्याम्पस बालकुमारीमा अध्ययनरत छिन् । उनि एउटा कुशल इन्जिनियर बन्न चाहन्छिन् । त्यस्तै पाटन बहुमुखी क्याम्पसमा अध्ययनरत कुसुम रावल पनि अर्थशास्त्र लिएर पढ्दैछिन् । उनी अर्थशास्त्री बन्न चाहन्छिन् ।  अहिलेका धेरै जसो युवाहरु कोही डाक्टर, इन्जिनियर, पत्रकार, आदी बन्न चाहन्छन् र समाजमा नाम र दाम कमाउन चाहन्छन् । 
तर यि भन्दा अलि भिन्दै सोचाइ छ चितवन दारेचोकका कृष्णबहादुर गुरुङ्गको । उनी कृषि पेशामा आवद्ध छन् । स्कुल पढ्दा कृषि विषय अनिवार्य थियो, त्यसैले पनि उनी कृषि पेशामा आकर्षित भएको बताउँछन् । उनले सम्पुर्ण खर्च कटाएर २५ हजार मासिक बचत गर्छन्  । यो पेशामा सफलता पाउनुको रहस्य बारे उनी भन्छन् "मैले आफुले लगाएको फलफुलमा रसायनिक मलको साटो मानवमुत्र प्रयोग गर्ने गर्छु । जसले गर्दा तरकारी र फलफुल उत्पादन बृद्धी हुन्छ र यो स्वास्थ्यवद्र्धक पनि ।"
पहिलो पटक उनले काँक्रा खेतीमा मलको साटो पिसाव प्रयोग गरेका थिए । त्यति बेला भएको आम्दानीबारे उनि भन्छन् "२०६६ साल जेष्ठ महिनामा काँक्रो लगाएँ, साढेँ २ कट्ठामा लगाएको काँक्रोले असार महिनामै २७ कुइन्टल उत्पादन गर्न सकेँ । त्यसमा सरदर ३२ रुपैयाको दरले ८६ हजार ४ सय रुपैया आम्दानी भएको थियो ।"

उत्पादन लागतमा १६ हजार लगानी गरेका कृष्णले पहिलो वर्षमै ७० हजार ४०० खुद नाफा गरे । र फोहोर मानिने पिसावलाइ मोहोरमा परिणत गर्न सफल भए । उनका अनुसार कुनै पनि काम सानो ठुलो भनेर नछुट्याइ इमान्दारी र मेहनतका साथ गरियो भने सफल अवश्य भइन्छ ।
 काम सानो हुँदैन भन्ने अर्की एक उदाहरण हुन् तनहुँ दमौलीकी ज्ञानु श्रेष्ठ । वि.सं. २०५६ सालदेखि नै सिलाई पेशामा क्रियाशील ज्ञानुलाई सिलाइ पेशा अँगालेकै कारण धेरैले दलित भनेर उनले दिएको पानी समेत खाँदैनथे । आफ्नो विगत सम्झिदैँ ज्ञानु भन्छिन् "मेरो घर नजिकै एउटा कार्यालय थियो । त्यहाँ थुप्रै ठाउँका मानिसहरु आउने गर्थे । एक दिन मेरो घरमा आएर पानी मागे । घरमा अरु कोही नभएका कारण म पानी लिन भित्र गएँ तर पछि फर्केर  आउँदा उनिहरु फर्किसकेका थिए । उनीहरुले कपडा सिलाउने मेसीन देखेर दलित भन्ने सम्झिए ।" 
ज्ञानुले भोगेका समस्या धेरै थिए तर पनि उनले कहिल्यै हार मानिनन् र यही क्षेत्रमा काम गरेको अहिले १२ वर्ष वितिसकेको छ । अहिले ज्ञानुले तनहुँको दमौली वजारमा "ज्ञानुज बुटीक" नामक पसल खोलेकी छिन् । १२ जना सहयोगी रहेका ज्ञानुको पसलमा लेडिज आइटमहरु सारी, कुर्ता पाइन्छन् । दैनिक ५०, ६० जना महिलाले अवलोकन गर्ने उनको पसलमा मासिक ३०,४० हजार रुपियाँ आम्दानी हुन्छ । ज्ञानु दंग छिन् अहिले । पहिला उनलाई समाजले जुन दृष्टिकोणले हेर्ने गर्थ्र्यो त्यसमा परिवर्तन आएको छ । उनि भन्छिन् "काम कुनै सानो नहुने रहेछ र हरेक घरका पुरुषले पनि ज्ञानुले जस्तै काम गरे कति राम्रो हुन्थ्यो भन्ने गर्छन ।"
चितवनका कृष्ण गुरुङ्गले फोहोर संकलन गरेर मोहोर जम्मा गर्नसके भने तनहुँकी ज्ञानु श्रेष्ठले समाजमा कुनै जाति विशेषलाई तोकिएको काम समेत नहिच्किचाइ गरेर काम सानोठुलो नहुने प्रमाणित गरिसकेकी छिन् ।

No comments:

Post a Comment