Saturday, May 12, 2012

म र मेरा कुरा


                                 
२०६७ फागुन ७, यतिखेर विहानको २ बजिरहेको छ, लगभग आध घण्टा भयो आखाँ खुलेका मेरा, के के सपना देख्दै थिए कोठामा खसर खसर गरेको आवाज आयो सायद छुचुन्द्रो पसेछ । उठेर धपाउन खोजेँ, अँह भेटिन । फेरी विस्तारामा पल्टिएँ, यता फर्किदै, उता फर्किदै निदाउने प्रयास गरे अँह मरे निद आएन ।

यसरी विच रातमा विउँझिदा, फेरी निदाउन नसक्नु मेरो पहिला देखिकै बानी तर पहलेका रातहरुमा विउँझिदा मनमा के के कुराले डेरा जमाएका हुन्थे यही भनेर भन्न सक्दिन  के के आउँथे सबै विर्सनथेँ । हुनत रातमा यसरी नविउँझिएको पनि धेरै दिन भएको थियो । अचानक आजको विउँझाइले मेरो बच्चा बेलाका दिनहरु झलझली याद दिलाइदियो ।

सायद हिजो साँझ सुत्नुभन्दा अघि कृष्ण धारावासीको उपन्यास आधावाटो पढ्दै थिएँ त्यसैले पनि होला । ममी र बुवालाई सम्झिएँ यो पटकको विउँझाइमा । एकैछिन रमाएँ खुसी भएँ धेरै रमाइला पलहरु फनफनी घुमेमेरा दिमागमा यहि बेला लेख्नु पर्यो भनेर समयको सदुपयोग गर्दै निकाले यो सुँचकांक अनि कोर्न थालेँ .......



म ३ वर्षकी थिएँ सायद, पहाड तनहुँ दमौली बाट तराइ (नवलपरासी) झर्दा म मेरो दाइ, ममी र मेरो मामा आएका थियौँ । मलाई राम्रै संग याद छ त्यतिवेला हामी संयुक्त परिवारमा बसेका थियौँ मेरो अंकल (कान्छा बा) का ५ जना छोराहरु गरी ७ जना, हामी ५ जना दाइ, म, ममी बुबा र साथमा बुवाको जेठी श्रीमती गरी सबै मिलाउँदा जम्मा १२ जना । उबेलाँ ठुलोममीको एकजना छोरी हुनुहुन्थ्यो  १६ वर्षे तर विवाहीत ।

लामो समय सम्म पनि छोरा नपाएको कारण मेरो ममीलाई विहे गरेको रे बुवाले । मलाई साह्रै माया गर्ने मेरी दिदीले बोकेर वरिपरी डुलाउने गर्नुहुन्थ्यो मलाई याद छ दिदीका कपाल लामा थिएँ । बुबाले कम्मरमा बान्ने तौलीयाले मलाई बुइमा चपक्क बाँधेर यताउत डुलाउँदै आँगना लटरम्म फुलेका फुल टिप्न लगाउनुहुन्थो । विचविचका केही कुरा यादनै छैनन तर कहिले काहीँ म दिदीको घरमा हुन्थेँ जान्थे कसरी मलाई याद छैन तर गएर अम्वा खान्थेँ वाहीर हरियो तर भित्र रातो भाको अम्वा अहिले पनि मालई भित्र गुलावी कलरको हुने अम्वा खाँदा मेरी प्यारी दिदिको याद आउँछ ।

 मलाई धेरै कुराहरु याद नै छैनन् दिदी संग विताएका तर एकदिन दिदीलाई सन्चो भएन र लामो लट्टेबाबाकोमा राख्न लगे फुकेर सन्चो हुन्छकी भनेर अँह दिदी सन्चो भएनछीन् । हामी बेलाबेला दिदीलाई लट्टे बाबाकोमा भेट्न जान्थ्यौँ दिदी त मलाई बोलाउन खोज्नुहुन्थ्यो सक्नुहुन्थेन । अहिले सुन्छु दिदीलाई ३ महिना जति फुक्ने बाबाकोमा राखिएको सन्चो नभएर घर फर्काइयो दिदीलाई घर ल्याउने बेलाको कुरा चाही मलाइ याद छ । दिदी साह्रै पातली दुव्लि भैसक्नु भएको थियो । दिदीलाई छुट्टै भरियाले बोकेको थियो म पनि ममिको काखमा थिएँ । दिदीलाई थुक्न मन लागेको रहेछ तर टाउको पनि घोप्टाएर थुक्न नसेकी मेरी दिदीको थुक भरियाले आफ्नो हातमा थापेको दृष्य अझै पनि मेरो आँखामा झलझली आउँछ ।

त्यो भन्दा बढी मेरो दिदीको याद कतै छैन ममा तर अलि बुझ्नी भएपछी ममी र अरु नातागोता, छरछिमेक बाट थाहा पाएँ दिदीको त मृत्यु भै सकोको पो रहेछ । तर दिदी वितेको कुरा रुवावासी भाको कुरा अँह याद छैन, मात्र मलाई यो कुरा याद छ घर अघाडी बाट एउटा विहेको जन्ति जाँदै थियो बेहुला र बेहुली पनि हिडेरै जाँदै थिएँ म उनिहरुलाई हेर्न भनि दाइहरुसित दौडिदै थिएँ ठक्क बेहुलाको अगाडी पुगेको के थिएँ बेहुलाले मलाई जुरुक्क उचालेर यि मेरो साली भनेर सबै जन्तिलाई देखाउनु भयो म त डरले रोएँ । र भाँगे अनि घर आएर बुझेको त त्यो विहे मेरो दिदीको श्रीमान्को पो रहेछ मेरी दिदी वितेपछी उहाँले अर्को विहे गर्नु भएको रहेछ ।

साँच्चै दिदीको बारेमा मलाइ यति मात्रै याद छ म अलि ठुली भएको भए त्यो बेला अझै कति याद रहन्थे होला मेरा । मेरो  ममीले भन्नु भएको दिदी वित्दा म मात्र डेढ वर्षकी थिएँ रे हिड्न पनि राम्ररी सक्दिन थिएँ रे । तर पनि त्यो बेलाका ३, ४ वटा पल दिदी संगका यि मेरा सम्झनाहरु अझै पनि छन् । त्यसपछीका दिनहरु के कसरी विते मलाई पत्तो छैन मात्र मलाई तराइ झर्ने बेलाको समय याद छ ।
मामा म दाइ र ममी तराइ आयौँ किन अँह थाहा थिएन त्यै पनि मलाई त ल्याउने सुर नै थिएन रहेछ ममीको । कान्छा बाका जेठा छोरासित मादी खोला हेर्न लैजा भनि मलाई पठाइदिनु भाको थियो ममीले । गएँ म फर्किने बेला उता टाढा बाटोमा मैले मामा ममी र दाइलाई नयाँ कपडा लाएर हिडेको देखेँ र रुन थालेँ म रोएको सुन्नु भएछ क्यार ममीले मलाई पनि संगै लाने निधो गर्नुभयो । म पनि मेरो नयाँ कपडा लाएर गएँ

ममीहरुसंगै दमौली बजारमा १५ मिनेट जति हिडेपछी आइपुग्यौँ बस कुर्दा कुर्दा नपाए पछी टडकमा चढेका थियौँ त्यै पनि पछाडी पट्टी । त्यो बेला म डराएर एक्दमै रोएँ सायद त्यो बेलानै मेरो पहिलो पटक बुझ्ने भएपछी चढेको हुनुपर्छ सवारी साधन नत्र किन डराउँथे होला र ? म रोएको सुनेपछी चालकलाई पनि माया लागेछ क्यार अघाडी लाएर राखे । अनि आयौँ नवलपरासीको लोकाहा भन्ने ठाउँमा त्यसपछी ओरालो झरेर लगभग १ घण्टा ममीको काखमा चढेर हिडेपछी एउटा खरले छाएको झुपडीजस्तो देखिने घरमा पुग्यौँ तर त्यहाँ त मेरो बुबापो हातमा स्टीलको गिलास समातेर अरुसित गफलाउँदै ।

बल्ल थाहा भयो ममी त बुबालाई खोज्न पो जानुभाको रहेछ । बुबा त ३ महिना देखि घरै नजानु भाको रहेछ थाहा भापो ? किन तराइ झर्नु भाकोे थियो के कारणले मैले अझै पनि बुझ्न सकेकी छैन तर गाइगुँइ सुन्छु ४६ सालको आन्दोलमा बुवालाई कांग्रेश भनेर लखटेकारे पञ्चेहरुले तर यो बारेमा अझै मैले राम्ररी बुझेकी छैन । जे होस् बुवालाई भेटीयो म पनि बुबा र ममिकै काखमा बस्न थालेँ ।

त्यो गैरी गाउँ अझै पनि याद छ मलाई खरले छाएको झ्याव्सीले बारेको त्यो स्कुल,

 ४ कक्षा सम्मको थियो शुक्रवार सधै लिपपोत गर्नुपर्ने । साथीहरु संगीता, विजन, पुर्ण, पोबी, मिना, हिमाल, अनिता, राजन, विमला, विष्णु, प्रभा, सन्तोष.... आहा कति रमाइला थिए ति दिनहरु । त्यहाँ हाम्रो सानो घर थियो । २ कोठाको, भित्र पट्टी एउटा कुनामा ओदान राखेको चुलो थियो । नजिकै सानो खाट थियो बाहीर पट्टीको कोठामा एउटा ठुलो खाट थियो त्यै पनि चारैतिर चोके परेको काठ गाढेर विचमा भाटा राख्न अड्याउ मिल्ने गरेर बनाइएको खाट जसमा बुबा ममी, म दाइ एकै ठाउँमा सुत्ने गर्थ्यौँ ।

त्यही झुपड पट्टीमा पनि तनहुँ दमौली बाट गएका पाहुनाका ओइरो लाग्ने गर्दथ्यो । एक दिन अचानक ६,७ जनाको समुह हाम्रो घरमा पाहुना हुनआए त्यसमा एकजना मेरी ठुलो ममी पनि हुनुहुन्थ्यो । घर सानो थियो पाहुना धेरै तर हामी जस्को जग्गामा बसेको थियौँ उहाँको घर पनि मेरो घरको आगन सकिन नपाउँदै उहाँको घर सुरु हुन्थ्यो । गुरुङ्ग थरका थम बहदुर मामा निकै दयालु पाहुना आउँदा हामी त्यहाँ सुत्न जान्थ्यौँ र पाहुनालाई हाम्रो घरमा सुत्ने व्यवस्था गर्दथ्यौँ । त्यो बेला अचम्म लाग्थ्यो बुबाको जागिर थिएन ममीले कुनै पेशा अपनाउनुभाथेन तर पनि हामीलाइ खान्थ्यौँ, लाउँथ्यौँ कसरी अहँ थाहा छैन ।

 त्यो बेला यसरी सोच्ने दिमाग पनि कहाँबाट हुनु ? जिन्दगी रमाइलै चल्दै थियो । तर सधैँ रमाइलै रमाइलै दिन त कति पो होला र कसैको पनि । हामी ५ जनाको परिवार पनि बाडीने भैयो फेरी । बुबा र ममी, म दाइ र ठुली ममीलाई छोडेर यता दुम्किवास (नवलपरासीको अर्को ठाउँ) मा जानुभयो । हामी त्यही बसेर स्कुल जान्थ्यौँ । हप्ताको शुक्रवार शुक्रवार ममी आउनुहुन्थ्यो भेट्न छोराछोरीलाई होष्टेलमा भेट्न गएजस्तो । ठुलोममीलाई खर्चपर्च दिएर हामीलाई ५ रुपैया सम्म पकेट खर्च दिनुहुन्थ्यो अनि १ रात बसेर फर्किनु हुन्थ्यो । हामीलाई के थाहा ममीले पैसा कसरी ल्याउनुहुन्थ्यो भन्ने कुरा हामीलाई त १ रुपैयामा टन्न पिपल गेडी आउँथ्यो त्यस्को लिपिष्टी दल्दै हिड्न पाए पछी के चाहियो र ....

 त्यहीमाथी दोकाने कान्छा (विजन) ले मलाई मन पराउने । कहिले काहीँ कितावमा पैसा राखिदिथ्यो उसले तर मलाई लिन भने एकदमै डर लाग्यो । थाहा छैन त्यो पैसा लिन्थे कि लिन्नथे भन्ने कुरा तर खानेकुरा चोरेर ल्याउँथ्यो त्यो भने टन्न खाइन्थ्यो । उसका दाइहरुले मलाई बुहारी भनेर जिस्काउँदा म लाजले भुतुक्कै हुन्थेँ । संगिता विजनको भाञ्जी तर मेरो त मितीनी । उसको एउटा हातमा ६ वटा औँला थिएँ । उसंग कुरा मिलेको बेला यादनै हुन्थेन तर रिसाए पछी मैले झलझली त्यही औँला मात्रै देख्थे र भन्थेँ छ आँैले । साह्रै मिल्ने साथीहरु हुन उनका मामा भाञ्जी । दुवै गुरुङ् थिए । त्यहाँ गुरुङ् हरुको बस्तीनै थियो ।

त्यही वस्दा अलिअलि गुरुङ्ग भाषा बुझ्ने भाको म । उनिहरु पनि कहाँ कम थिए र रिसाको बेला क्रान्ति दराइ फुटेको कराइ भन्दै जिस्काउँथे नी । त्यसैले पनि होला मलाई दरै थर मनै पर्देन थियो ।

 एकदिन थमवहादुर मामाले पेन्सन बुझेर आउँदा मलाई नयाँ कपि किनेर ल्याइदिनु भएको थियो । कपिको पहिलो पान्नामा नाम लेख्ने चलन थियो । उहाँले मेरो नाम लेखिदिनु भयो क्रान्ति दराई अनि म रिसाएँ । उहाँ दंग पर्नुभएछ अनि सोध्नु भयो भाञ्जी के भयो ? रुने कारण थियो अरुले त मलाई दराइ भने भने आफ्नै मामाले समेत दराइ भन्यो भनेर । सोच्थेँ विजनको मामा भाञ्जी दुबै गुरुङ् हुने अनि मेरो त मामा गुरुङ्ग म दरै कसरी हुन्छ म पनि गुरुङ् हो त्यही लेखीदिनु भनेर रोएकी थिएँ ।

म २ कक्षाको परिक्षा दिएर बसेकी थिएँ । दाइले ३ कक्षाको ।  रिजल्ट आयो फुरुक्क भयौँ म ३ मा दाइ ४ मा गएको उपलक्ष्यमा तर त्यही समय ममी दुम्किवासबाट आउनुभयो र भन्नु भयो अब हामी सवै एकैठाउँमा बस्नुपर्छ तिमीहरु यता हामी उता भएन ।

 म त झसंग ला... विजन र संगिता लाई छेड्ने ? अनि हाम्रो स्कुल नि ? ममीले उता पनि छ स्कुल त्यही पढ्ने । त्यो बेला त मैले अन्त पनि स्कुल हुन्छ साथी हुन सक्छन् भन्ने तिर एक रत्ति पनि सोचेकी थिइन । ममीले भन्नुभएकै भोली पल्ट हामी झिटीझाम्टा पोको पारेर लाग्यौँ दुम्किवास तिर त्यो बेला १३ रुपियाँ थियो लोकाहा देखि दुम्किवासको भाडा याद छ मलाई ममीले २ जनाको भाडा २६ दिनुभएको । दाइ र म त सित्तैमा ।
                                                                  क्रमश..
( Note : मास्टर गर्नेवेला सम्म मैले स्कुल र क्यम्पस गरि ६ वटा अध्ययन संस्थान फेरेँ सवै तिरका कुरा लेख्दैछु टुक्राटुक्रामा)

No comments:

Post a Comment