Monday, January 7, 2013

झमकसंगको भेट


झमक घिमिरे,
उनको वारेमा मैले वखान गर्नु तपाइका अगाडी इन्द्रका अगाडी स्वर्गका वयान, भने जस्तै होला,तर मेरो नजरमा उनि एक कुसल साहित्यकार हुन् । उनको हातखुट्टा तपाइ हाम्रो जस्तो सरल र सहज तरिकाले चल्दैनन्,उनलाई देख्दा लाग्छ भगवानले उनलाई अन्याय गरे । तर अर्को कुरा हामीलाई भन्दा धेरै वुद्धि र क्षमता दिएर न्याय पनि गरेरका छन् भन्छु म त ।
न हिड्न सक्छिन् न वोल्न सक्छिन्, न राम्ररी खान सक्छिन् न राम्ररी सुत्न सक्छिन् तर उनले २ चिज राम्ररी गर्न सक्छिन् त्यो हो सुन्न र लेख्न । त्यसैले त उनि साहित्यमा अव्वल छिन् ।
३३ वर्ष अघि धनकुटाको कचिडामा जन्मेकी झमक उनको साहित्यिक प्रतिभाले धनकुटा जिल्ला मात्र होइन देश तथा विदेशमानै ख्याती कमाइसकेकी छिन् । धेरै मान सम्मान समेत पाइसकेकि छिन् ।
१ वर्ष अघि सम्म त मलाई पनि झमक घिमिरेको विषयमा त्यति जानकारी थिएन । यदा कदा पत्रपत्रिकामा फ्याट्ट फुट्ट उनको वारेमा पढ्थे तर उनलाई मैले नजिकवाट नियालेको उनको कृति “ जिवन काँडा की फुल” वाट नै हो । यो पुस्तक पढेपछी साँच्चैनै उनलाई नजिकवाट नियाल्र्न र लेखेरै भए पनि कुराकानी गर्न आतुर थिएँ म । यो पटकको मेरो धनकुटा यात्राले त्यो पनि पुरा गरिदियो ।

कार्यलयको काम लिएर ४ दिनको लागि सुनसरी र धनकुटा पुगेको म काम सकेको साँझ निक्कैनै फुरुँग थिएँ, २ जना मिलेर काम गर्ने भनिए पनि संगै गएको सहकर्मीको आफ्नै समस्याले गर्दा फर्किर्नु प¥यो र म एक्लै त्यहाँका स्थानिय साथीहरुसंग सहयोग मागि काम फत्ते गरेको थिएँ, । काम सकेपछी साथीभाइ सित कफि पिउँदै थिएँ, झमक घिमिरेको कुरा निस्कियो अनि थाहा पाएँ उनि त धनकुटामै छिन् रे ...... । अनि म अठोट गरे, म झमकलाई भेटेरै फर्किन्छु,
रातप¥यो, खानासाना खायौँ, सुत्ने समयमा मनमा कुरा खेल्दै थियो,
साँच्चैनै मैले त्यहि पुस्तक लेख्ने झमकलाई भेट्न जाँदै छु है, ओ हो, कस्तो संघर्षमय जिवन वितएकी थिइन उनले, भाइवहिनीको कितावकपी लुकिलुकि हेर्नुपर्ने वाध्यता थियो उन्को, वाउले पनि अलक्षिना भनेर आरोप लगाएका थिए, गाउँलेले पनि उनलाई हेयको भावनाले हेर्ने गर्थे तर पनि उनि.......... “जिवन काँडा की फूल” मा लेखिएका कुराहरु मेरो दिमागमा फनफनी घुम्न थाले.... कति खेर निद्रा रानिले छोपिछिन् म त फुसुक्कै निदएछु ।
विहान भयो, सुर्यको किरण म वसेको कोठामा न्यानो प्रकाश दिँदै छिर्यो, यस्सो घडी हेरेको त विहानको ८ वजिसकेको रहेछ । हतारहतार तयार भएर म रेडियो मकालुको परिसरमा गएँ, त्यहाँका २ जना पत्रकार सन्तविर लामा र देवकला कार्कीको साथमा लागेँ झमकको गाउँ तिर, ... उकालो ओरालो, सल्लाघारीको विचैविच सानो गाडि कुद्दै थियो, वरिपरी नियाल्दै म झमकलाई भेट्न गएकी थिएँ, समय हुँदो हो त म त्यहाँ हिडेर जान्थे किनकी मलाई हिड्न साह्रो रहर लाग्छ, अझै त्यो हरियाली सल्लाघारी त मनै लोभ्याउने खालको थियो । लगभग आधा घण्टाको घुमाउरो वाटो कटेपछी उता गाडि जाने ठाउँ नै थिएन।
वारीको आलि आलि उकालो वाटो फेरी खुट्टालेनै हिड्यौँ लगभग १५/२० मिनेटको वाटो पछि सुन्तलाको वगानमा आइपुग्यौँ, सुन्तलाको वगान अघिल्तिर गोठ, गोठको आडैवाट सानो उनको घरजाने वाटो, त्यहि वाटो हुँदै सफा आगन सेतो रंगलगाएको झमक घिमिरेको घरमा हामी पुग्यौँ, मैले वरिपरी हेरे कतै झमक वाहिरै छिन् कि ?
अँ हँ कतै देखीन, वुवा आउनु भो उनको पत्रकार सन्तविरलाई सायद उहाँ पहिला देखीनै चिन्नुहुन्थ्यो अनि फुकाउन थालिहाल्नु भयो उहाँको पिडाको भारी, उहाँ भन्दै हुनुहुन्थ्यो झमकलाई २ महिना अस्पतालमा राखेर ल्याउँदा उनलाई सम्मान गरेर दिएका रकम जति सवै सक्कियो । अहिले हामी संग रकम छैन, तर झमकलाई वचाउने भए, महिनाको ७ सय ५० का दरले ओखती पानी लाग्छ, तुरुक्क आसु चुहाउँदै भने, झमककी आमा पनि हामी नजिकै आएर वस्नु भयो  र थप्नु भयो, भर्खरै चाइनामा झमकलाई एउटाकार्यक्रममा सम्मानका लागि वोलाएका थिए। त्यहाँ जानु भन्दा अघि धेरै संघसंस्था र आफन्तिले पनि झमकलाई उपचार खर्च उपलव्ध गराइदिने भनेका थिए, चाइना गएर आए पछि कसैले पनि वास्तै गरेनन् , आमा थप्नुभो ।

सवैले सोचेँ विदेश गएर आएपछी त टन्न पैसा पाए हामीले किन सहयोग गर्नुपर्यो भनेर तर हेर्नुस हामीलाई आउजाउ र वस्ने खर्चवाहेक पाएका भनेको यि यो एउटा उपहार हो ।
निक्कैनै गह्रौ चाइनिज अक्षरमा खुँदिएका उपहार देखाउँदै उहाँले भन्नु भयो, वुवाले थप्नुभयो – हेर्नु नानी न यो उपहार वेच्न मिल्ने न के..... त्यहीहो हामी वुढावुढीले पनि झमको कारणले विदेश हेर्न पायौँ । कुरा गर्दै हामी झमको कोठामा आइपुगेका थियौँ, देव्रे पट्टीको खाटमा उनि खुट्टाले पान्न पल्टाउँदै गरिमा नामक सहित्यिक किताव पढिरहेकी थिइन, मैले नमस्ते झमक जी भने उनले सकि नसरी दुवै खुट्टा उचालेर मलाई नमस्ते फर्काउँदै थिइन, अनि मैले सोधेँ उहाँ विरामी भएर दुव्लाउनु भाको हो ? आमाले भन्नु भो अहिले त अलि हेर्न लायक भाकि हो, अनि झमक हाम्रो कुराकानी सुन्दै मुस्कुराउँदै थिइन, हामीले उनलाई उपहार स्वरुप लगिदिएको डायरी र पेन दिएका थियौँ,
आफ्ना केही शव्द लेखेर मैले लेखे
"गेट विल सुन झमक
वि लभ यु",
क्रान्ति दरै दमौली
एउटा मिकीमाउसको चित्र पनि वनाएकी थिएँ त्यहाँ उनि त्यो देखेर  निक्कैनै हासेकी थिइन, आमाले त्यतीवेला सम्म चिया वनाएर ल्याइसक्नु भएको थियो, खायौँ र झमकलाई धेरै डिस्टर्व नगर्ने हेतुले हामी वाहिर निस्कियौँ । हामीले विदा माग्दा उनले कपि पल्टाएर मुस्कुराउँदै लेखिन हस्त, हामी निस्कियौँ, वाहिर उनको घरमा २ वटा ट्वाइलेट थियो, सोधेँ, जर्मनको सहयोगमा उनलाई सुविधा युक्त ट्वाइलेट वनाइएको रहेछ, आमाले हामीलाई भान्सा तिर देखाउन लानुभयो त्यहाँ त एउटा निक्कैनै आकर्षक खालको ह्व्वील चियर थियो, निक्कैनै गह्रुँगो, सवै खुट्टाले नै संचालन गर्न मिल्ने, वावाले भन्नुभयो यो १ सय ६० किलोको छ, जर्मनलेनै सहयोग गरेको हो, यसको मुल्य २० लाख रुपैँया पर्दो रहेछ ।,
यो वस सरह छिटो दौडिन सक्छ, राम्रो वाटोमा यो झमक आफैले दौडाइन, तर यहाँ त यस्तो छ वाटो घरमा ल्याउँदा समेत मान्छे लगाएर वोकेर ल्याएको, मलाई कस्तो अचम्म लाग्यो, विदेशीले हाम्रो नेपाली चेलीलाई यति धेरै सहयोग गरेका छन् तर हेर हामी नेपालीले उनको घर सम्म जाने एउटा गतिलो वाटो पनि निर्माण गर्न सकेका छैनौँ ।
उनलाई मान सम्मान गरेर उपहार स्वरुप महंगा महंगा उपहार दिएका छौँ तर वास्तवमा उनलाई के कुराको आवस्यक छ त्यो कुरा दिन सकिरहेका छैनौँ, विरामी परेपछी उनले पत्रिकामा लेखिरहेको स्तम्भ पनि निरन्तता दिन सकिरहेकी छैनिन् । जसले उनको आम्दानीको वाटो पनि वन्द भएको छ ।,
हामी फर्कियौँ,
मनमा अनेक कुरा खेल्दै गएँ,
-म उनको लागि के के गर्न सक्छु ?
– उनको स्वास्थ्य उपचार खर्चको लागि रकम जम्म गर्न ?
– उनको घरसम्म को वाटो ह्विल चियर गुड्ने सम्म वनउन विभिन्न संघसंस्थाहरुलाई आव्हान गर्न ?
यति पनि नभए यो चाहिँ गर्न सक्छु । गएर ति साहित्यिक संघसंस्थाहरुमा भन्न सक्छु, हाम्रो नेपालमा सहि मुल्यांकन मान्छे मरेपछी गर्ने चलन छ, कृपया यो चलन वन्द गर र सहयोग गर्ने नै हो भने वाचुन्जेल गर ।
धन्यवाद,

4 comments:

  1. Jhamaklai nai vete jasto feel vo... thank you Kranti keep it up...:)

    ReplyDelete
  2. क्रान्ती जी तपाईंको लेख्ने शैले निक्कै राम्रो छ । त्यसमा पनि झमक दिदिको लागी गरेको आव्हान त झनै सर्हानिय छ ।
    मैले पनि झमक दिदिलाई केबल पुस्तकमा भेटेको थिए उहाँको कृती जिबन काँडा की फूलमा उहाँको त्यो मर्मस्पर्शी जीबन कथा पढ्दा शब्दहरुमा बेर बेर आशुले डेरा गर्दथ्यो । जस्ले राष्टलाई आफ्नो लेखन मार्फत चिनाउदै छ उहालाई सपोर्ट अनि हौसला दिनुपर्ने हो सरकारी तथा बिभिन्न I/NGOs हरुले तर छैन । जो शारिरीक असक्तता लिएर पनि केहि गर्छन देशलाई पो त सच्चा नगरिक हो त सच्चा नागरिकलाई कहिले गर्ने सपोर्ट अहिले नगरे कहिले गर्ने ।

    ReplyDelete
  3. धन्यवाद, प्रकाशजी :)

    ReplyDelete